खनिज प्रसोधन तथा प्रवर्धन केन्द्र
खनिज प्रवद्र्धन तथा प्रशोधन केन्द्र
नेपालको विभिन्न क्षेत्रमा छरिएर रहेको धातु तथा अधातु, किमति तथा अर्ध किमति खनिजहरूको विस्तृत अध्ययन भई खनिज भण्डार, बजार, भौगोलिक अवस्थिति, पूर्वाधार तथा आर्थिक र वातावरणीय पक्ष समेत हेरी खनिज भण्डार प्रबर्धन गर्ने कार्य यस केन्द्रबाट हुने गर्दछ । उल्लेखित कार्यहरू सम्पादन गर्न, खनिज प्रशोधन तथा विश्लेषण गर्न आवश्यक प्रयोगशालाको सेवा समेत उपलब्ध छ । खनिजको प्रकृति, गुणस्तरीय सेवा र प्राविधिक विज्ञताको आधारमा खानी तथा भूगर्भ विभागबाट यस कार्यलाई थप व्यवस्थित गर्न रा.प.प्रथम श्रेणी प्राविधिक (सुपरिटेन्डेण्ट माइनिङ्ग इञ्जिनियर) को मातहतमा अन्य प्राविधिक विज्ञ रहने गरी यस केन्द्रको व्यवस्था गरिएको छ । शाखाहरूको प्रमुखमा जियोलोजि तथा मेटालर्जिकल इन्जिनियरिङ्ग विधाका प्राविधिकहरू (रा.प.द्वि.प्रा.) रहने व्यवस्था छ ।
केन्द्रका उद्देश्यहरूः
- खनिज सम्पदाको विस्तृत मूल्यांकन, सम्भाव्यता (आर्थिक तथा प्रावधिक र वातावरणीय) अध्ययन र प्रवद्र्धन गर्ने ।
- अन्वेषण र अनुसन्धानबाट सम्भाव्य, अर्ध प्रमाणित तथा प्रमाणित खनिज भण्डारको खनिजमा आधारित उद्योग प्रवद्र्धन गर्ने ।
- किमति तथा अर्ध किमति पत्थरको प्रवद्र्धन/मूल्य अभिवृद्धि गर्ने ।
- जेमोलोजि, मिनरलोजि र पेट्रोलोजि प्रयोगशाला सेवा उपलब्ध गराउने ।
- स्वदेशमा नै खनिज प्रशोधन गर्न आवश्यक उपकरण, प्रविधि एवं दक्ष जनशक्ति व्यवस्थापन गर्ने ।
केन्द्रका कार्यहरु
- उपयुक्त माइनिङ्ग, मिनरल र मेटालर्जिकल प्रविधि अपनाई खनिजको विकास गर्न सोको मूल्याङ्कन संम्भाव्यता अध्ययन आदि गर्ने ।
- खानी विकास एवं खनिज प्रवद्र्धन गर्न प्रविधिहरूको प्रचार प्रसार गर्ने ।
- खनिज प्रशोधनको लागि चाहिने प्रयोगशाला, प्रविधिको अध्ययन, अनुसन्धान र छनौट गर्ने गराउने ।
- खनिज तथा खनिजजन्य उद्योगहरुको प्राविधिक तथा वातावरणीय अनुगमन गर्ने ।
- खानी तथा खनिजको मुल्याङ्कनको आधारमा अन्य पक्षहरू समेत हेरी पूर्वाधार विकासमा सिफारिश गर्ने ।
- संघ, प्रदेश र स्थानीयस्तरमा जेमोलोजी सम्बन्धी तालिम गोष्ठी गरी प्रवद्र्धनात्मक कार्य गर्ने ।
- खानी र खनिजजन्य उद्योग सम्बन्धमा र खनिज प्रशोधन सम्बन्धी नीति र कानून तर्जुमा गर्ने ।
- खास खनिज सम्बन्धी कार्यहरूको वार्षिक कार्यक्रम अनुसार प्रवद्र्धन गर्ने,अनुगमन र अन्य सम्बन्धित कार्यहरू गर्ने ।
यस केन्द्र अन्तर्गत ४ वटा शाखाहरू छन् ।
क) खनिज भण्डार मुल्याङ्कन शाखा
ख) खनिज आर्थिक अध्ययन तथा प्रबद्र्धन शाखा
ग) खनिज प्रशोधन प्रयोगशाला शाखा
घ) मिनरलोजी तथा जेमोलोजी शाखा