नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

नेपालमा खानी तथा खनिजको उतखननको ईतिहास करिब 2 शताब्दि अघि देखि रहि आएको मानिन्छ। परापुर्व काल देखिनै नेपालमा फलाम, तामा, सिसा, जस्ता, कोबाल्ट, निकेल र सुनको सानो मात्रामा उत्खनन हुदै आएको हो। पुराना खानीका खाडल, अडिट, किट गाल्ने ठाउँ र खानी प्रशोधनका अवशेषहरू पाईनु तथा गाउँबस्तिका नाम तामा खानी, फलाम खानी, सिसा खानी वा सुन खानी जस्तै खनिज नामहरूबाट नामाकरण गरिएको पाइनुले पनि नेपालमा खनिज क्षेत्रको महत्व रहेको देखिन्छ। यध्यपि देशभरका खानीको व्यवस्थित अध्ययन सन् 1950 को दशक तिर सुरु भएको थियो भने सन् 1976 मा खानी तथा भूगर्भ विभागको स्थापना पछि थप व्यबस्थित अन्वेषण, मूल्याङ्कन र तथा उत्खनन हुदै आएको छ। 


यस अबधिमा राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने खालका थुप्रै खनिजको पहिचान तथा खनिजमा आधारित उद्योगहरूलाई प्रवर्द्धन गर्न केहि सफलता हासिल भएको छ। नेपालका विभिन्न भागहरूमा आर्थिक रुपले तत्काल लाभजनक देखि साधारण उपस्थिति मात्र सम्मका 1000 भन्दा बढी खनिज स्थानहरू पहिचान भइसकेका छन्। केही महत्त्वपूर्ण स्रोतहरूको बिस्तृत अध्ययन भई उपलब्धता, गुणस्तर र मूल्यका आधारमा तिनीहरूको विशेषताहरूको मूल्याङ्कन गरिएको छ भने कतिपय खनिज जन्य उद्योगहरू स्थापना भई देशको अर्थतन्त्रमा योगदान गरिरहेका छन। 


आर्थिक सम्भाव्यताको आधारमा खनिजलाई 1) लाभदायक स्रोत (Economic Deposit) जस्मा उत्पादनको लागि प्राविधिक र आर्थिक रूपमा लाभदायक अवस्थामा रहेका खनिज स्रोतहरू तथा 2) सह-लाभदायक स्रोत (Sub-Economic Deposit) जस्मा टनेज र गुणस्तर लाभदायक प्रमाणित नभएका स्रोतहरू पर्दछन भने 3) खनिज भण्डार (Mineral Reserve) (जस्ले खनिजहरू जसको मोटाई, ग्रेड, र गहिराई विशेषताहरूका आधारमा आवश्यक वर्तमान आर्थिक सीमा भन्दा कम प्रदर्शन गर्दछ), र 4) खनिज उपस्थिति (Occurrence) (स-साना स्रोतहरू) मा व्याख्या गरिन्छ। 
उपभोगको आधारमा नेपालका खनिज लाई हाल सम्म धातु खनिज समूहका 21 वस्तु, अधातु औध्योगिक खनिज समूहका 23 वस्तु, रत्न पथ्थर समूहका 6 वस्तु, निर्माण सामग्रीका 10 वस्तु, र ईन्धन खनिज समूहका 4 वस्तु गरी कुल 64 खनिज वस्तुलाई पहिचान गरिएको छ ।


धातु खनिज अन्तर्गत एन्टिमोनी, आर्सेनिक, बिस्मथ, क्याडमियम, क्रोमियम, कोबाल्ट, तामा, सुन, फलाम, सिसा, जस्ता, लिथियम, बुध, मोलिब्डेनम, निकल, चाँदी, ट्यान्टलम/नियोबियम, टिन, टाइटेनियम, टंगस्टन, युरानियम पहिचान भएको छ। 
अधातु औध्योगिक खनिज अन्तर्गत ब्याराइट, क्याल्साइट, माटो, सामान्य नुन, कोरुन्डम, डोलोमाइट, फेल्डस्पार, गार्नेट, ग्रेफाइट, म्याग्नेसाइट, माईका, ओकर, पेग्माटाइट, फस्फोराइट, पाइराइट, सिलिका स्यान्ड, सिलिमेनाइट, पहिचान भएको छ।
अधातु रत्न खनिज अन्तर्गत अक्वामरिन, बेरिल, कायनाईट, क्वार्ट्ज, रूबी नीलमणि,टुर्मालिन आदि माथिल्लो हिमालय भौगोलिक खण्डमा पहिचान भएको छ।
अधातु निर्माण सामग्री अन्तर्गत बेसिक चट्टान, बोल्डर, ग्राभेल र बालुवा, ग्रेनाइट, जिप्सम, लाइमस्टोन, मार्बल, क्वार्टजाइट, स्लेट, सिनाइट पहिचान भएको छ।
ईन्धन खनिज अन्तर्गत कोइला, जियोथर्मल हट स्प्रिङ, प्राकृतिक मिथेन ग्यास, पेट्रोलियम र प्राकृतिक ग्यास पहिचान भएको छ।


नेपाल पाँच भौगर्भिक क्षेत्र/खण्डका आ–आफ्नै भौगर्भिक विशेषता र खनिज सम्पदाहरू छन् । भौगर्भिक विभाजनको आधारमा तराई मैदानमा तेल र ग्यासको सम्भावना रहेको तथा चुरे–भावर क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा, युरानियम, तेल र ग्यासको सम्भावना रहेको छ ।  तल्लो हिमालयमा बिभिन्न धातु खनिजहरु, चुनढुङ्गा, डोलोमाइट, रत्नपत्थर, कोइला, तातोपानी आदि खनिजहरू पाइएका छन्, भने उच्च हिमालयमा रत्नपत्थर, जस्ता, सिसा आदि खनिजको सम्भावना देखाएको छ। उत्तरको तेथिस हिमालयमा चुनढुङ्गा, नुन, जिप्सम, ग्यास र युरानियम को सम्भावना देखिन्छ ।