नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

खानी तथा भूगर्भ विभाग

नेपाल सरकार

खानी तथा भूगर्भ विभाग

लैनचौर, काठमाडौं

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

हिमालयको उत्पत्ति

हिमालय बन्ने प्रकृया लाई प्लेट विवर्तनको सिधान्त (Plate Tectonic Theory) ले व्याख्या गरिन्छ। जस अनुसार पृथ्विमा बिभिन्न तहहरु छन, बाहिरि तह (lithosphere) अलि कडा छ जुन भित्रि अर्धतरल तह (Asthenosphere) मा तैरिरहेका हुन्छन। र सो lithosphere बिभिन्न भू-खण्डहरु (Plates) मा बिभाजित छन । भित्रि र बाहिरि तहका असमान तापक्रम र घनत्वको प्रभावमा यी प्लेटहरू एक-अर्कासँग सापेक्ष रूपमा सर्छन। यसरि सर्ने क्रममा पृथ्विको बिभिन्न ठाउंमा एक अर्का संग ठोकिने, सर्ने वा फाट्ने गर्दछन्। एक अर्का संग छुट्टिदा खाडल आकारका भुगोल बन्छन भने एक अर्का संग ठोकिदा पहाडहरु बन्छन। करिब 5 करोड बर्ष पहिले ईन्डियन प्लेट र युरेसियन प्लेट एक आपसमा ठोक्किएर हिमालय पर्वतहरु बनेका हुन ।

नेपाल हिमालय

हिमालयको सबैभन्दा मध्य भागमा रहेको र करिब एक तिहाई विशिष्ट भुगोल ओघटेको नेपालले अझै सक्रिय भारत-युरेशिया टक्कर क्षेत्रको लगभग एक तिहाइ प्रतिनिधित्व गर्दछ। नेपाल हिमालय पृथ्वीमा सक्रिय पहाड निर्माण प्रक्रियाको बारेमा प्रत्यक्ष अध्ययन गर्न चाहनेहरूका लागि उत्तम स्थान हो। संसारकै सबै भन्दा अग्लो सगरमाथा देखि लिएर अन्य बिभिन्न उच्च हिम श्रृङख्लाहरु नेपालमा अवस्थित छन्। पदयात्री र पर्वतारोहीहरूका लागि, नेपाल हिमालय आफैंमा एक स्वर्ग हो जसले दक्षिणमा 100 मिटर तल देखि उत्तरमा 8848.86 मिटरसम्म उचाइमा बिभिदता सहितको अद्वितीय भूरूपविज्ञान प्रदान गर्दछ।

नेपालको सम्पुर्ण भूभागलाई उत्तर देखि दक्षिण विभिन्न पांच भौगर्भिक क्षेत्र 1) तेथिस हिमालय, 2) उच्च हिमालय, 3) तल्लो  हिमालय, 4) चुरे र 5) तराई मा विभाजित गरेको छ । नेपालका यी पांच भौगर्भिक क्षेत्रहरु फरक-फरक समयमा फरक-फरक प्रकृया बाट बनेका हुनाले भिन्न विषेशता सहितका छन। उल्लेखित भौगर्भिक क्षेत्रहरुलाई बिभिन्न कालखण्डमा सक्रिय भ्रसंहरु (Faults) ले एकमाथी अर्को खप्टिदै लग्दा हिमालयमा वर्तमान भुगोल बन्न पुगेको हो। 

नेपालको बिभिन्न भौगर्भिक क्षेत्रहरुको छोटो जानकारी

तेथिस हिमालय

तेथिस हिमालयमा स्याण्डस्टोन, मडस्टोन, चुनढुंगा लगायतका पत्रे चट्टानहरु पाईन्छन। यस क्षेत्रमा प्राप्त एमोनाईट (शालिग्राम, करिब 20 करोड), कृनोईड (करिब 40 करोड), बिभिन्न मुगाहरु तथा ग्यास्ट्रोपड कवज लगायतका जिवावशेषले यि चट्टानहरु समुन्द्रको पिधमा जम्मा भई बनेको पुष्टि गर्दछन। करिब 2 करोड वर्ष अघि STDS  फल्टको सतहमुनि बाट उच्च हिमालयको तातो चट्टानहरु निस्कने क्रममा यस तेथिस क्षेत्र थप माथि उचालिदै गएको हिमालय चुलिने क्रममा यहाका चट्टानका तहहरु बांगिएका र भाचिएका छन।

उच्च हिमालय

उच्च हिमालय क्षेत्रमा करिब 100 करोड बर्ष अघि जम्मा भएका बालुवा माटो थुप्रिदै बनेका चट्टानहरु पछि हिमालय बन्ने क्रममा खादिदै जादा उच्च ताप र चापका कारण पगलिइ र परिवर्तन भई आग्नेय तथा परिवर्तित चट्टानहरु (ग्रेनाईट, पेग्माटाईट, नाईस, सिस्ट, क्वार्टजाईट आदी) बन्न पुगे। यि चट्टानहरुमा उच्च ताप र चापमा अनुकुलन हुने खालका खनिजहरु (बायोटाईट, गार्नेट, कायनाईट, टुर्मालिन आदी) पाईन्छन। करिब 2 करोड वर्ष अघि MCT भ्रंसले उच्च हिमालयलाई तल्लो हिमालय माथि खप्टाएको थियो। त्यस क्रममा जमिनको करिब 30 कि.मि. भित्र सम्मका तातो परिवर्तित र आग्नेय चट्टानहरु सतहमा आइपुगेका थिए।

तल्लो हिमालय

यस भौगर्भिक क्षेत्रमा मध्यम ताप र चापका परिवर्तित चट्टानहरु (स्लेट, फिलाईट, क्वार्टजाईट, मार्वल आदी) र पत्रे चट्टानहरु (चुनढुङ्गा, डोलोमाईट, स्याण्डस्टोन आदी) पाईन्छन। यि चट्टानहरु करिब 190 करोड देखि करिब 5 करोड बर्ष अघि सम्म जमिन र समुन्द्रका बिभिन्न स्थानमा थुप्रिदै गएका माटो बाट बनेका थिए। करिब 2 करोड वर्ष अघि देखि ताप र चापका कारण केहि मात्रामा परिवर्तित चट्टानहरु बन्न पुगे। यस क्षेत्रमा प्राप्त स्ट्रोमाटोलाईट (करिब 110 करोड), नुमुलाईट (करिब 4.5 करोड) लगायतका जिवावशेषले चट्टानका उल्लेखित आयु पुष्टि गर्दछन। करिब 1.3 करोड वर्ष अघि MBT भ्रंसले तल्लो हिमालयलाई चुरे माथि खप्टाएको थियो। त्यस क्रममा उत्तर तिरका तल्लो हिमालयमा रहेका परिवर्तित र पत्रे चट्टानहरु एकै साथ सतहमा आइपुगेका थिए।

चुरे

करिब 5 करोड वर्ष अघि समुन्द्र सतह भन्दा मुनि बाट, हाल माथि करिब 9 कि. मी उचाइ प्राप्त गर्न हिमालय निरन्तर उचालिदै आएको छ र त्यसैको प्रतिक्रिया स्वरुप तिब्र छयिकरण (माटो बगाउने, पहिरो जाने) पनि निरन्तर चलिरहेको छ। यसरि उच्च भेग बाट छयिकरण भइ दक्षिणको समथर भेगमा करिब 2 करोड वर्ष देखि 25 लाख वर्ष अघि सम्म थुप्रिएका माटो (बालुवा, गिटि) को थुप्रो नै चुरे हो। आदि मानव रामापिथेकस, हात्ति, गोहि, लगायत ढाड भएका जिवावशेषले चट्टानका उल्लेखित आयु पुष्टि गर्दछन। मेन फ्रन्टल भ्रंस (MFT), जसलाई हिमालयन फ्रन्टल भ्रंस (HFT) पनि भनिन्छ, ले हिमालयको फेद र इन्डो-गंगाको मैदान बीचको सीमा परिभाषित गर्दछ। यस भ्रंसको सतहमा चिप्लिदै चुरे लगायत सम्पुर्ण हिमालय पहाड दक्षिण तर्फको तराई मैदानमाथी सर्छन। यो प्रकृया अझै पनि समय समयमा हिमालयका भुकम्पका घटनामा प्रदर्शित हुन्छ।

तराई

हिमालय चुलिदै जादा करिब 1 करोड वर्ष अघि एसियामा मन्सुन को प्रबेश भयो र भू-क्षय तथा माटो छयिकरण को क्रम पनि तिब्र हुदै गयो र फलस्वरुप अग्लो बाट होचो स्थानमा माटो (बालुवा, गिटि) थुप्रिदै गयो। यसरि गंगा तथा यिनको सहायक नदिको बगरमा थुप्रदै गएका गेग्रान तराई क्षेत्रमा पाईन्छ।

 

नेपालको खनिज सम्भाबना

तराई र चुरे क्षेत्रमा पेट्रोलियम पदार्थ, निर्माणमुखी खनिज पदार्थहरु, तल्लो हिमालय क्षेत्रमा धातुजन्य खनिज, औद्योगिक खनिज,  किमती तथा अर्ध किमती पत्थरहरु र कोइला जस्ता खनिज पदार्थहरु रहेका छन् । त्यसैगरी उच्च हिमालय क्षेत्रमा  किमती एवं अर्धकिमति पत्थर, मार्वल र धातुजन्य खनिजको संभावना रहेको छ भने टेथिस  हिमालय क्षेत्रमा चुन ढुंगा, नुन, जिप्सम  र प्राकृतिक ग्यासको प्रसस्त संभावना रहेको पाइन्छ